कागजात प्रमाणीकरण सम्बन्धी जानकारी
विदेशमा पेश गरिने कागजातहरू नेपालमा कहाँ/कुन कार्यालयबाट प्रमाणीकरण गरिन्छ? कार्यालय कहाँ रहेको छ ?
विदेशमा पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण (Consular Legalization/Attestation) सम्बन्धी कार्य त्रिपुरेश्वर, काठमाडौंस्थित कन्सुलर सेवा विभाग बाट गरिन्छ ।
विभागबाट कस्ता-कस्ता कागजातहरू प्रमाणीकरण गरिन्छ ?
नेपाल सरकारका आधिकारिक निकायबाट जारी भएका मुख्यतः निम्न कागजातहरू विभागबाट प्रमाणीकरण गरिन्छ:
- व्यक्तिगत (Individual/Civil) कागजात: जन्म दर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्र, सम्बन्ध-विच्छेद दर्ता प्रमाणपत्र, नाता प्रमाणित, वैवाहिक स्थिति, बसाइँ-सराइ, सहमति/मञ्जुरीनामा, वारेसनामा (Power of Attorney), अख्तियारनामा पत्र (Authorization Letters)
- बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात
- शैक्षिक (Academic) प्रमाणपत्र: विद्यालय, बोर्ड तथा विश्वविद्यालयबाट जारी गरिएका प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट
- स्वास्थ्य/चिकित्सकीय (Medical) रिपोर्ट
- नागरिकता प्रमाण-पत्र, राहदानी, स्मार्ट सवारी चालक अनुमतिपत्र (Driving License) आदि ।
- अड्डा अदालतबाट जारी भएका कागजात
विभागबाट कागजात प्रमाणीकरण गर्ने सामान्य प्रक्रिया के हो?
कागजातको प्रकृति अनुसार प्रमाणीकरणको चरण फरक हुन सक्छ, तर सामान्यतया देहायका चरण अनिवार्य रूपमा पूरा गर्नुपर्छ:
- कागजात सम्बन्धित वडा कार्यालय वा तोकिएको आधिकारिक निकायबाट सक्कल रूपमा प्राप्त गर्ने
- वडा कार्यालयबाट जारी कागजातलाई सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत (CAO) वा तोकिएका अधिकारप्राप्त अधिकारीबाट रुजु-प्रमाणित (Verification/Attestation) गराउने
- विशेष कागजातको हकमा केन्द्रीय निकायबाट पुनः रुजु-प्रमाणित गराउने:
- बैंक/वित्तीय कागजात → नेपाल राष्ट्र बैंक
- स्वास्थ्य रिपोर्ट → स्वास्थ्य सेवा विभाग (टेकु, काठमाडौं)
- शैक्षिक प्रमाणपत्र → शिक्षा मन्त्रालय वा शिक्षा विकास तथा समन्वय एकाइ (EDCU)
- कक्षा १० सम्मका शैक्षिक प्रमाणपत्र → सम्बन्धित पालिकाको शिक्षा शाखा
- उत्पत्ति प्रमाण-पत्र/व्यापारिक कागजात → उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
- विभागमा प्रति कागजात रू. ५००/- प्रमाणीकरण शुल्क (Consular Fee/Revenue) बुझाउने
- राजस्व भुक्तानी पश्चात औसत ३०-४० मिनेटभित्र कागजात प्रमाणीकरण सेवा सम्पन्न हुन्छ ।
(थप जानकारीका लागि विभागको बडापत्रमा हेर्न सकिने। Link …)
विदेशका सरकारबाट जारी गरिएका कागजात प्रमाणीकरणको प्रक्रिया कस्तो छ?
विदेशी मुलुकको सरकारबाट जारी सक्कल कागजात सो मुलुकमा रहेको नेपालको नियोग वा सो मुलुकको नेपालस्थित नियोगबाट प्रमाणीकरण (Legalization/Attestation) गरी विभागमा प्रमाणीकरणका लागि पेश गर्न सकिन्छ ।
यदि कागजात जारी भएको मुलुकमा नेपालको आवासीय (resident) नियोग छैन भने त्यस देशका लागि सहप्रमाणीकृत (accredited) नेपालको नियोगबाट प्रमाणीकरण गरिएको हुनुपर्छ वा नेपालमा सो मुलुकको आवासीय (resident) नियोग नभएको अवस्थामा नेपालका लागि सहप्रमाणीकृत सो मुलुकको नियोगबाट प्रमाणीकरण गरिएको हुनुपर्छ ।
नोटरी पब्लिकबाट प्रमाणित कागजात विभागबाट प्रमाणीकरण हुन्छ ?
नोटरी पब्लिकबाट प्रमाणीकरण गरिएका कागजात विभागबाट प्रमाणीकरण गरिँदैन । नेपाल वा विदेशस्थित आधिकारिक सरकारी/कूटनीतिक नियोगबाट भएको प्रमाणीकरण मात्र मान्य हुन्छ ।
कागजात प्रमाणीकरणका लागि स्वयं उपस्थित हुनुपर्छ वा प्रतिनिधिमार्फत गर्न मिल्छ ?
- सम्भव भएसम्म सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्छ ।
- स्वयं उपस्थित हुन नसक्ने अवस्थामा:
- आवेदकको नागरिकताको प्रतिलिपी
- अख्तियारनामा पत्र (Authorization Letter)
- प्रतिनिधिको नागरिकता अनिवार्य संलग्न गरी नजिकको आफन्तमार्फत प्रमाणीकरण गर्न सकिन्छ ।
सक्कल कागजातको प्रतिलिपी/फोटोकपिमा विभागले प्रमाणीकरण गर्छ?
- नागरिकता र राहदानीको हकमा आवश्यक verification पछि प्रतिलिपी/फोटोकपिमा प्रमाणीकरण हुन्छ ।
- अन्य सबै कागजातहरूको हकमा सक्कल कागजातमा मात्र प्रमाणीकरण हुन्छ ।
कागजातहरूको प्रतिलिपी (Copy) सम्बन्धित निकायबाट प्रमाणीकरण भए विभागबाट प्रमाणीकरण हुन्छ ?
हुन्छ, तर प्रतिलिपी अनिवार्य रूपमा primary issuing/authorized central authority बाट रुजु-प्रमाणित/attested भएको हुनुपर्छ । जस्तै-
- कम्पनी दर्ताको प्रतिलिपी → कम्पनी रजिस्ट्रारको कार्यालयबाट रुजु-प्रमाणित
- बैंक कागजात → नेपाल राष्ट्र बैंकबाट रुजु-प्रमाणित
- शैक्षिक प्रमाणपत्र → सम्बन्धित Board/University + शिक्षा मन्त्रालयबाट रुजु-प्रमाणित
भारतमा बसेको अवधिको Police Clearance Certificate (PCC) को सिफारिस सम्बन्धमा के प्रक्रिया छ ?
- भारतमा अध्ययन/बसोबास गरेका नेपाली नागरिक (Nepali Citizens Residing/Studying/Working in India) ले PCC को सिफारिसका लागि निवेदन दिन पाउँछन् ।
- आवश्यक कागजात:
- शैक्षिक प्रमाणपत्र/Transcript
- ID Card
- तलब/Salary Slip
- कार्यालय अनुमति-पत्र
- नागरिकता प्रतिलिपि
विदेशी शैक्षिक प्रमाण-पत्र नेपालबाट प्रमाणीकरण गर्ने प्रक्रिया कस्तो छ ?
- प्रमाणपत्र जारी गर्ने मुलुकको सम्बन्धित शैक्षिक/सरकारी निकायबाट सक्कल attestation/verification गराउने ।
- सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा सो मुलुकमा रहेको नेपालको नियोगबाट प्रमाणीकरण (Legalization/Attestation) गराउने
- शिक्षा मन्त्रालयबाट जारी Equivalence Certificate पेश गर्ने ।
स्मार्ट सवारी चालक अनुमतिपत्र (Driving License) प्रमाणीकरणका लागि आवश्यक कागजातहरू के के हुन ?
- सवारी चालक अनुमतिपत्रको पूर्ण विवरण खुलाई यातायात व्यवस्था विभाग/कार्यालयबाट जारी गरिएको सक्कल आधिकारिक पत्र
- सवारी चालक अनुमतिपत्रको सक्कल वा प्रतिलिपि / Smart License आवेदन गर्दा प्राप्त राजस्व बुझाएको सक्कल रसिद
- आवेदकको नागरिकताको प्रतिलिपि
विभागमा प्रमाणीकरण सेवा प्रदान हुने समय कुन हो ?
प्रमाणीकरणको आवेदन तालिका
- कार्तिक १६ देखि माघ १५
आइतबार-बिहीबारः बिहान १०:०० बजे - बेलुका २:०० बजे
शुक्रबारः बिहान १०:०० बजे - बेलुका १:०० बजे
- कार्तिक १६ देखि माघ १५
आइतबार-बिहीबारः बिहान १०:०० बजे - बेलुका ३:०० बजे
शुक्रबारः बिहान १०:०० बजे - बेलुका १:०० बजे
खोजतलास तथा उद्धार सम्बन्धी कार्य
विदेशमा रहेका आफन्त/नेपाली नागरिक अलपत्र पर्दा उद्धार गरी नेपाल फर्काउन के गर्नुपर्छ ?
विदेशमा कुनै नेपाली नागरिक अलपत्र परेको अवस्थामा खोजतलास तथा उद्धार गरी नेपाल फर्काउनका लागि कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्ति आफै वा निजको तर्फबाट जानकारी दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित/अनलाइन निवेदन पेश गर्नुपर्छ:
- उद्धार गर्नुपर्ने व्यक्तिको राहदानी (Passport) र नागरिकता प्रमाणपत्र को प्रतिलिपि
- निजसँग हाल वा सम्भावित रूपमा सम्पर्क हुनसक्ने फोन नम्बर
- अन्तिम पटक सम्पर्क हुँदाको ठेगाना, अवस्था तथा परिस्थितिको संक्षिप्त विवरण
- निज कार्यरत कम्पनी/रोजगारदाताको नाम, ठेगाना र सम्पर्क नम्बर
- निज कार्यरत कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- विदेशमा सम्पर्क गर्न सकिने निजको कुनै पहिचानको व्यक्ति भए, सो व्यक्तिको नाम, फोन नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि ।
नोट: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको हकमा वैदेशिक रोजगार बोर्डमा समेत निवेदन दिन सकिन्छ ।
विदेशमा रहेका आफन्त सम्पर्कविहिन भएमा के गर्नुपर्छ ?
विदेशमा रहेका आफन्त लामो समयसम्म सम्पर्कविहिन भएको अवस्थामा खोजतलास गर्न कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्तिको तर्फबाट जानकारी दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित/अनलाइन निवेदन पेश गर्नुपर्छ:
- सम्पर्कविहिन व्यक्तिको राहदानी (Passport) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अन्तिम पटक सम्पर्क भएको फोन नम्बर, इमेल (उपलब्ध भएमा) तथा ठेगाना
- अन्तिम पटक सम्पर्क हुँदा भएको कुराकानीको विस्तृत विवरण, सो समयको अवस्था तथा हालको सम्भावित अवस्थाबारे जानकारी
- निज कार्यरत कम्पनी/रोजगारदाताको नाम, ठेगाना र सम्पर्क नम्बर
- विदेशस्थित कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- विदेशमा सम्पर्क गर्न सकिने निजको कुनै पहिचानको व्यक्ति भए, सो व्यक्तिको नाम, फोन नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि ।
विदेशमा आफन्त जेल परेको खबर प्राप्त भएमा के गर्नुपर्छ ?
विदेशमा रहेका आफन्त जेल परेको खबर प्राप्त भएमा सो सम्बन्धमा कानूनी व्यवस्था तथा सहायता सम्बन्धी जानकारीका लागि कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्तिको तर्फबाट जानकारी दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित/अनलाइन निवेदन पेश गर्नुपर्छ:
- जेल परेको व्यक्तिको राहदानी (Passport) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जेल परेको जानकारी गर्ने व्यक्ति वा स्रोतको नाम, सम्पर्क विवरण
- सम्बन्धित जेल/Detention Centre को नाम र ठेगाना
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताको नाम, सम्पर्क नम्बर र ठेगाना (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- विदेशमा निजको पहिचानको कुनै व्यक्ति/आफन्त भए, सो व्यक्तिको नाम, सम्पर्क नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि ।
(विदेशी मुलकमा जेलमा परेको व्यक्तिको हकमा सो मुलुकको कानून, अदालतको आदेश तथा निर्णय अनुसार हुने व्यवस्था छ ।)
विदेशमा गम्भीर रूपमा बिरामी/अस्वस्थ्य भई अस्पतालमा उपचाररत आफन्तलाई नेपाल ल्याउन के गर्नुपर्छ ?
विदेशमा गम्भीर रूपमा (शारीरिक वा मानसिक) अस्वस्थ्य भई अस्पतालमा उपचाररत नेपाली नागरिकलाई नेपाल ल्याउने प्रक्रियाको लागि कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्तिको तर्फबाट निवेदन दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित वा अनलाइन निवेदन पेश गर्नुपर्छ:
- अस्पताल अस्पतालमा उपचाररत बिरामीको राहदानी (Passport) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- निज भर्ना भएको अस्पतालको नाम र ठेगाना
- चिकित्सक वा अस्पतालबाट प्राप्त निजको वर्तमान स्वास्थ्य अवस्था सम्बन्धी प्रतिवेदन/विवरण (उपलब्ध भएमा)
- निजको अवस्थाबारे जानकारी प्रदान गर्ने व्यक्ति वा स्रोतको नाम, सम्पर्क विवरण
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताको नाम, सम्पर्क नम्बर र ठेगाना (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- विदेशमा निजको पहिचानको कुनै व्यक्ति/आफन्त भए सो व्यक्तिको नाम, सम्पर्क नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि ।
(विदेशमा गम्भीर रूपमा अस्वस्थ्य भई अस्पतालमा उपचाररत आफन्तलाई नेपाल ल्याउने प्रक्रिया बिरामीको हालको स्वास्थ्य अवस्था, चिकित्सकको सिफारिस, हवाई टिकटको व्यवस्थापन, नेपालका अस्पतालमा उपलब्ध उपचार सेवा र खर्च व्यवस्थापन लगायतका अन्य आवश्यक पक्षहरूको तयारीको अवस्था अनुसार हुने छ ।)
विदेशबाट नेपाल फर्किने क्रममा आफन्त Transit भएको देशको एयरपोर्टमा नै बिरामी भई अस्पताल भर्ना भएको खबर प्राप्त भएमा के गर्नुपर्छ ?
विदेशबाट नेपाल फर्किने क्रममा रहेका आफन्त Transit भएको देशको एयरपोर्टमा बिरामी भई अस्पताल भर्ना भएको जानकारी प्राप्त भएमा निजलाई नेपाल ल्याउने प्रक्रियाको लागि कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्तिको तर्फबाट जानकारी दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित वा अनलाइन निवेदन पेश गर्नुपर्छ:
- Transit स्थलमा बिरामी भएको व्यक्तिको राहदानी (Passport) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- निजको अवस्थाबारे जानकारी दिने व्यक्ति वा स्रोतको नाम, सम्पर्क विवरण
- निज भर्ना भएको अस्पतालको नाम र ठेगाना
- चिकित्सक वा अस्पतालबाट प्राप्त निजको वर्तमान स्वास्थ्य अवस्था सम्बन्धी प्रतिवेदन/विवरण (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताको नाम, सम्पर्क नम्बर र ठेगाना (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- यस विषयमा सम्पर्क गर्न सकिने कुनै व्यक्ति/आफन्त भए सोको नाम, फोन नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि
- निजको वर्तमान स्वास्थ्य अवस्था ।
विदेश जाने क्रममा आफ्नो लगेजमा भएका सामानहरू (जस्तै: गुन्द्रुक, सुर्ती, औषधी आदि) विदेशको विमानस्थलमा शंकास्पद वस्तु ठहर भई पक्राउ वा थुनामा परेमा उद्धारका लागि के गर्नुपर्छ ?
विदेश जाने क्रममा लगेजमा भएका कुनै पनि खाद्य पदार्थ, सुर्तीजन्य वस्तु, औषधी, जडीबुटी, रसायन वा तरल पदार्थ सम्बन्धित देशको भन्सार, स्वास्थ्य तथा लागुऔषधसम्बन्धी कानून अनुसार निषेधित, सीमित वा घोषणा गर्नुपर्ने वस्तु ठहर भई पक्राउ वा थुनामा परेको अवस्थामा कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा सम्बन्धित व्यक्तिको तर्फबाट जानकारी दिने व्यक्तिले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित/अनलाइन निवेदन पेश गर्नुपर्छ:
- पक्राउ परेका व्यक्तिको राहदानी (Passport) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- पक्राउ जानकारी गर्ने व्यक्ति वा स्रोतको नाम, सम्पर्क विवरण
- सम्बन्धित जेल/थुनुवा गृहको नाम र ठेगाना (उपलब्ध भएमा)
- सम्बन्धित जेल/Detention Centre को नाम र ठेगाना
- निज विदेश जानुको प्रयोजन (यात्राको उद्देश्य)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताको नाम, सम्पर्क नम्बर र ठेगाना (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- विदेशमा निजको पहिचानको कुनै व्यक्ति/आफन्त भए, सो व्यक्तिको नाम, सम्पर्क नम्बर र ठेगाना
- निवेदकको नागरिकताको प्रतिलिपि ।
(विदेश जाने क्रममा यात्रुले लैजाने कुनै पनि खाद्य पदार्थ, सुर्तीजन्य वस्तु, औषधी, जडीबुटी, रसायन वा तरल पदार्थ सम्बन्धित देशको भन्सार, स्वास्थ्य तथा लागुऔषधसम्बन्धी कानून अनुसार निषेधित, सीमित वा घोषणा गर्नुपर्ने वस्तुमा पर्नसक्ने हुनाले विभागमार्फत् सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग वा सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोगसँग आवश्यक समन्वय गरी आवश्यक जानकारी तथा परामर्श गरिनेछ । यस प्रकारको मुद्दामा अनुसन्धानको अवस्था, अभियोगको प्रकृति, अदालतको आदेश र स्थानीय कानून अनुसार हुनेछ ।)
विदेश यात्राअघि सावधानी (Travel Advisory)
(विदेश यात्रा गर्नुअघि यात्रुले आफूसँग लैजाने कुनै पनि खाद्य पदार्थ, सुर्तीजन्य वस्तु, औषधी, जडीबुटी, रसायन वा तरल पदार्थ सम्बन्धित देशको भन्सार, स्वास्थ्य तथा लागुऔषधसम्बन्धी कानून अनुसार निषेधित, सीमित वा घोषणा गर्नुपर्ने वस्तुमा पर्न सक्छन् । त्यसैले यात्राअघि सम्बन्धित एयरलाइन्स, गन्तव्य देशको आधिकारिक वेबसाइट तथा नेपाली नियोगबाट कुन-कुन वस्तु लैजान मिल्छ वा मिल्दैन भन्ने जानकारी अनिवार्य रूपमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध गरिन्छ ।)
विदेशमा रहेका आफन्तको मृत्यु भएमा मृतकको शव नेपाल ल्याउन के गर्नुपर्छ ?
विदेशमा रहेका आफन्तको मृत्यु भएमा मृतकको शव नेपाल ल्याउने प्रक्रियाको लागि कन्सुलर सेवा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (सम्बन्धित मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपालको नियोग) मा मृतकको आफन्तले देहायबमोजिमका कागजात तथा विवरणसहित लिखित वा अनलाइन निवेदन पेश गर्नुपर्छ:
- विदेशमा मृत्यु भएको व्यक्तिको राहदानी (Passport) को प्रतिलिपि
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताको नाम, सम्पर्क नम्बर र ठेगाना (उपलब्ध भएमा)
- निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले प्रदान गरेको परिचयपत्र (ID Card) को प्रतिलिपि (उपलब्ध भएमा)
- यस विषयमा सम्पर्क गर्न सकिने कुनै व्यक्ति/आफन्त भए सोको नाम, फोन नम्बर र ठेगाना
- मृतकसँग निवेदकको नाता खुलेको कागजात
- निवेदकको नागरिकताको प्रतिलिपि ।
विदेशबाट मृतकको शव नेपाल ल्याउन कति समय लाग्छ ?
मृतकको शव नेपाल ल्याउन लाग्ने समय देश अनुसार फरक-फरक हुन सक्छ । उदाहरणका लागि साउदी अरबबाट मृतकको शव नेपाल ल्याउन सामान्यतः ३० दिन लाग्न सक्छ भने अन्य देशहरूबाट मृतकको शव नेपाल ल्याउन सामान्यतः ७ दिन लाग्ने गरेको छ ।
विदेशबाट मृतकको शव नेपाल ल्याउन कति खर्च लाग्छ र कसले व्यहोर्नु पर्छ ?
- विदेशबाट मृतकको शव नेपाल ल्याउन लाग्ने खर्च रकम देश अनुसार फरक-फरक हुन्छ ।
- श्रम स्वीकृती लिएर गन्तव्य मुलुकमा गएको व्यक्तिको हकमा शव नेपाल ल्याउन लाग्ने खर्च निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले व्यहोर्छ ।
- श्रम स्वीकृती लिएर गन्तव्य मुलुकमा गएको व्यक्तिको हकमा शव नेपाल ल्याउन लाग्ने खर्च निज कार्यरत रहेको कम्पनी/रोजगारदाताले नव्यहोरेमा सो खर्च नेपाल सरकारले (वैदेशिक रोजगार बोर्ड मार्फत) व्यहोर्छ ।
- वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका श्रम स्वीकृती लिएर कोरिया गएका व्यक्तिको हकमा शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले (वैदेशिक रोजगार बोर्ड मार्फत) व्यहोर्छ ।
- भिजिट भिसामा विदेश गएका वा कानूनी प्रक्रिया पूरा नगरी विदेश गएका व्यक्तिको हकमा शव नेपाल ल्याउने सम्पूर्ण खर्च सम्बन्धित परिवारले नै व्यहोर्नु पर्छ ।
मृतकको शव विदेशमै अन्त्येष्टि गर्न के गर्नुपर्छ ?
मृतकको शव विदेशमै अन्त्येष्टि गर्ने प्रक्रियाका लागि सम्बन्धित गाउँपालिका/नगरपालिका/ उपमहानगरपालिका/महानगरपालिकाको वडा कार्यालयबाट कन्सुलर सेवा विभागको वेबसाइटमा उपलब्ध Affidavit (मन्जुरीनामा) फाराम रीतपूर्वक भरी सम्बन्धित गाउँपालिका/नगरपालिका/ उपमहानगरपालिका/महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारीबाट प्रमाणित गराई मृतकका आफन्तबाट मृतकसँग नाता खुलेको कागजात, नागरिकताको प्रतिलिपि तथा अन्य आवश्यक कागजातहरू सहित कन्सुलर सेवा विभागमा निवेदन पेश गर्न सकिन्छ । यसरी प्राप्त निवेदन तथा Affidavit (मन्जुरीनामा) आवश्यक कारबाहीका लागि विभागले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा पठाउनेछ ।
विदेशबाट मृतकको शव नेपाल आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घरसम्म पुर्याउने खर्चको व्यवस्था कसले गर्छ ?
- वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती लिएर गएका व्यक्तिको हकमा उक्त खर्चको व्यवस्था वैदेशिक रोजगार बोर्डले गर्छ ।
- भिजिट भिसामा विदेश गएका वा श्रम स्वीकृती नलिई विदेश गएका व्यक्तिको हकमा उक्त खर्चको व्यवस्था सम्बन्धित परिवारले नै गर्नुपर्ने हुन्छ ।
विदेशबाट मृतकको शव नेपाल ल्याउने मिति र समय कसरी थाहा पाउन सकिन्छ ?
मृतकको शव नेपाल ल्याउने हवाई टिकट व्यवस्थापनको जिम्मेवारी पाएको Airlines वा तोकिएको प्रतिनिधिले मृतकको परिवार वा सम्पर्क व्यक्तिलाई सम्पर्क गरी शव नेपाल ल्याउने मिति, समय र उडान विवरणबारे जानकारी गराउँछ । यस सम्बन्धी जानकारी प्राप्त नभएमा सो मुलुकमा रहेको नेपाली नियोग (वा सो मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपाली नियोग) मा सम्पर्क गर्न सकिन्छ ।
विदेशबाट मृतकको शव नेपाल आउन ढिलाइ भएमा कहाँ सम्पर्क गर्न सकिन्छ ?
यस सम्बन्धमा थप जानकारी वा समन्वयका लागि कन्सुलर सेवा विभागको कानूनी परामर्श शाखा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग (वा सो मुलुकमा नेपालको नियोग नभएको अवस्थामा सो मुलुक हेर्ने गरी तोकिएको नेपाली नियोग) वा निज कार्यरत रहेको कम्पनी/रोजगारदातासँग सम्पर्क गर्न सकिन्छ ।